पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो ।

कक्षा एक देखि माथिका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक भएका हुनाले के सिकाउने प्रष्ट छ । तर पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा यी बालबालिकाले के सिक्नुपर्छ भन्ने बारेमा थप बुझ्नुपर्ने र खोज्नुपर्ने आवश्यक रहन्छ । वालविकासका लागि के कस्ता क्रियाकलापहरू र विषय सामाग्री तथा शिपहरूसंग परिचित गराउने हो भन्ने कुराले नै पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यक्रम तय गर्ने आधार बन्छ ।

के हो पूर्व प्राथमिक कक्षा ?

शिक्षा ऐनको सातौं संशोधन (२०५८)देखि नै चार वर्षका बालबालिकालाई दिइने एक वर्षको शिक्षालाई पूर्व प्राथमिक शिक्षा मानिदै आएको मा आठौं संशोधन (२०७३)ले यस पूर्व प्राथमिक शिक्षालाई “प्रारम्भिक बाल शिक्षा” नामाकरण गरी आधारभूत शिक्षा (प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८) मा जोडेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन (२०७५)ले प्रारम्भिक बाल शिक्षालाई “प्रारम्भिक बालविकास तथा शिक्षा” को रूपमा परिभाषित गरेको छ। साथै चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नु अगावै दिइने एक वर्ष अवधिको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षा भनेको छ ।

यसै ऐन अनुसार चार वर्ष, ४८-६० महिनाका बालबालिकाका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (२०६९) तथा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) निर्माण भइ विभिन्न तालिम तथा सन्दर्भ सामग्रीको विकास पनि भएको छ । साथै पाँचदेखि सात वर्षको उमेर समूहका लागि कक्षा १-३ को पाठ्यक्रम पनि सोही अनुसार निर्माण गरेको छ ।  

नेपाल सरकारबाट एक वर्षकालागि मात्र मान्यता दिइएतापनि बालबालिकाको प्रारम्भिक बालविकास तथा स्याहारसँग जोड्दै, समूदायको चाहना तथा माग अनुसार सामुदायिक विद्यालयमा दुई वर्ष र नीजि विद्यालयमा चार वर्षसम्म प्रारम्भिक बालविकास कार्यक्रम भित्र पूर्व प्राथमिक कक्षा सञ्चालन भइरहेको छ ।

२०६२मा स्वीकृत प्रारम्भिक बालविकास दिग्दर्शन (पाठ्यक्रम)का अनुसार पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउनु हो ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, 2076 ले भने चार वर्षको उमेर पूरा भएका बालबालिकालाई एक बर्षको प्रारम्भिक बालविकासको अवसर प्रदान गरिने र चार वर्ष उमेर भन्दा मूनिका बालबिकालाई शिशु विकास केन्द्रवाट शारीरिक, मानसिक वा बौध्दिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्ने सकिने व्यवस्था गरेको छ ।

विद्यालय क्षेत्र विकास योजनाले पाँच बर्षमुनिका वालवालिकाको शारीरिक, मानसिक वा बौध्दिक, संवेगात्मक, सामाजिक, आध्यात्मिक तथा नैतिक क्षमताको विकास गरी प्रारम्भिक वालविकास र शिक्षालाई अधिकासमा आधारित बनाउने र विद्यालय प्रवेशको तयारी गराउने उद्देश्य तथा रणनीति लिएको देखिन्छ ।

 प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रममा पढाइलेखाइ मात्र भन्दा पनि अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्यपरिकारको पहिचान र दैनिक रूपमा उपयोग, स्वस्थकर बानी तथा असल सामाजिक व्यवहारको अनुसरण, वैयक्तिक सुरक्षाका उपाय अवलम्बन, दैनिक व्यवहारका कार्य सम्पादनका क्रममा विषयगत सिकाइ र सिर्जनात्मक सोचको प्रयोग र सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनमा आधारभूत सिपको प्रयोगलाई हासिल गर्नुपर्ने सक्षमताको रूपमा राखिएको छ ।

पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८) सहयोगी भूमिका खेल्न सक्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका सदस्यहरूको बीचमा यी बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साझा छलफलका लागि एउटा साधन बनाउनु पनि रहेको छ ।

मापदण्ड  निर्माणका लागि बालबालिकाप्रतिको राष्ट्रिय मूल्य–मान्यता निम्नानुसार तोकिएका छन्ः–

(क) बालबालिका स्वस्थ क्रियाशील तथा सम्वेगात्मक रूपमा सन्तुलित हुनुपर्दछ ।

(ख) जिम्मेवार, मायालु, फरक विचारको कदर र अरूलाई आदर गर्ने हुनु पर्दछ ।

(ग) आत्मविश्वासिलो, सीपयुक्त तथा आत्मनिर्भर हुनु पर्दछ ।

(घ) परिवर्तनलाई आत्मसात गर्ने वा परिवर्तित सन्दर्भमा मिलेर बस्न सक्ने हुनु पर्दछ ।

माथि उल्लेखित राष्ट्रिय मूल्य–मान्यताहरूलाई आधार बनाइ ५ वटा मुख्य क्षेत्रहरूलाई समेटेर मापदण्ड निर्माण गरिएको छ जसमा बालबालिकाको शारीरिक विकास, सामाजिक विकास, सम्वेगात्मक विकास, बौद्धिक/भाषिक विकास र साँस्कृतिक अथवा आद्यात्मिक विकास पर्दछन् ।

(१) शारीरिक विकास

यस क्षेत्रले बालबालिकाको शारीरिक स्वास्थ्य तथा दैनिक क्रियाकलापमा संलग्न हुने क्षमतालाई समेट्दछ ।

शारीरिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः


शारीरिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

१.१   शरीरका स्थूल अङ्गहरू (हात, खुट्टा) तन्काउने तथा सन्तुलन गर्ने अभ्यास गर्न प्रोत्साहित गर्ने ।

१.२   निर्देशित तथा स्वतन्त्र खेल खेल्न प्रोत्साहित गर्ने ।

१.३   विभिन्न वस्तुहरू जस्तै रङ्गिन कागज, रङ्गिन क्रेयन, कलम चक, रङ, रङ्गिन पाउडर, माड (गम), कैची, टुक्रा पुरानो कपडा आदिको प्रयोग गरी सूक्ष्म अङ्ग (औंला) तथा मांसपेशीको सञ्चालन र अभ्यास गर्न प्रोत्साहित गर्ने ।

१.४  आफ्नो वरिपरिको प्राकृतिक वातावरणमा आवाज आउने वस्तुहरू खोजतलास गर्न लगाउने र ती वस्तुहरूबाट आवाज निकाल्न प्रोत्साहित गर्ने ।

१.५   टाँक लगाउने र तुना लाउने अभ्यास गराउने ।

१.६   अभिभावक आफैले नमूनाको रूपमा व्यक्तिगत सरसफाई गरी व्यवहारमा देखाउने र सोही अनुसार सरसफाई गर्न प्रोत्साहित गर्ने ।

(२) बौद्धिक तथा भाषिक विकास

यस क्षेत्रले भौतिक तथा सामाजिक परिवेशबारे ज्ञान हासिल गर्ने तथा सो बारे विचार गर्न सक्ने क्षमतालाई समेट्दछ । विशेषतः यस क्षेत्रले बालबालिकाहरूको वरिपरीको वातावरणमा उपलब्ध सामानहरू, संस्था र रङ आदिबारेको ज्ञानलाई समेट्दछ ।

बौद्धिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः


बौद्धिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

२.१ डोमिनो, पजल जस्ता वस्तु दिएर खोज तथा अन्वेषण गर्न लगाउने ।

२.२ कथा सुनाउँदा अन्तमा अब के हुन्छ होला भनी सोधेर उसलाई कथा पूरा गर्न लगाउने ।

२.३ विभिन्न आकार नाप, रङ र बुट्टाका वस्तुहरू दिएर ती वस्तुहरू चिन्न, वर्गीकरण गर्न तथा क्रममा मिलाउन लगाउने ।

२.४ विभिन्न विषयका बारेमा जिज्ञासु हुने तथा छलफल गर्ने वातावरण बनाउने ।

२.५ आफ्नो वरिपरि पाइने उपकरण तथा साधनहरू अवलोकन गर्ने अवसर प्रदान गर्ने ।

२.६ वस्तुलाई एकएक गर्दै १-१० सम्म गन्न प्रोत्साहन गर्ने । हात, हावा, बालुवा आदिमा अङ्क लेख्न लगाउने ।

भाषिक विकास

यस क्षेत्रले बालबालिकाहरूको भाषिक ज्ञान, भाषाको बुझाई तथा प्रयोग गर्ने क्षमता जस्तो कि पढाइ र लेखाइ सीपका साथै प्रभावकारी रूपमा आफ्नो भनाइ ब्यक्त गर्ने क्षमतालाई समेट्दछ ।

भाषिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः


२.७ बालबालिकालाई चाख लाग्दा कथा सुनाउने र बालबालिकालाई पनि उक्त कथा दोहोर्याएर भन्न प्रोत्साहित गर्ने । कथासँग सम्बन्धित खुला प्रश्नहरू सोध्ने ।भाषिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

२.८ चित्र कथा पढ्दा औंला सारेर पढ्न प्रोत्साहन गर्ने ।

२.९ चित्रहरूको व्याख्या गर्न, डोमिनो खेल्न, तथा चित्र/ शब्द जोडा मिलाउन प्रोत्साहित गर्ने ।

२.१० बालबालिकालाई कुरा गर्न र आफ्ना विचारहरू व्यक्त गर्न प्रोत्साहित गर्ने ।

२.११ बालबालिकालाई चिनो लगाउने, ढाँचा सार्ने जस्ता क्रियाकलापहरू गर्न तथा माटो, बालुवा, कालोपाटी आदिमा कोर्न प्रोत्साहन गर्ने ।

२.१२ सूचना र निर्देशन सुन्न र सोही अनुसार कार्य गर्न प्रोत्साहित गर्ने ।

(३) सामाजिक तथा सम्वेगात्मक विकास

यस क्षेत्रले बालबालिकाहरूको सौहार्दपूर्ण तथा सकारात्मक सम्बन्ध बनाउने क्षमता जसले गर्दा उनीहरू घरपरिवार, विद्यालय र समुदायमा राम्ररी घुलमिल हुन सक्ने हुन्छन् । साथै यस क्षेत्रले बालबालिकाहरूको सम्वेगात्मक सन्तुलन कायम गरी सिकाई तथा ज्ञान हासिल गर्ने कार्यमा संलग्न हुने क्षमतालाई पनि समेट्दछ । 

सामाजिक तथा सम्वेगात्मक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः


सामाजिक तथा सम्वेगात्मक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

३.१ दैनिक रूपमा आफूभन्दा ठूलालाई अभिवादन गर्न प्रोत्साहित गर्ने र परिवारका अन्य सदस्यले पनि सोही अनुसार गरेर देखाउने ।

३.२ अन्य बालबालिकासँग अन्तरक्रिया गर्न र खेल्न प्रोत्साहित गर्ने ।

३.३ रमाइलो वातावरणमा रहेर आफ्नो भावनाहरू निर्धक्क प्रकट गर्न तथा आत्मविश्वासका साथ क्रियाकलापमा भाग लिन अवसर प्रदान गर्ने ।

३.४ आफ्नो पालो पर्खन लाइनमा बस्ने बानी बसाल्न प्रोत्साहित गर्ने ।

३.५ एकले अर्कालाई सहयोग गर्न, भेदभाव नगर्न प्रोत्साहित तुल्याउने खालको कथाहरू सुनाउने ।

३.६ घरायसी काममा उनीहरूको इच्छा र क्षमता अनुसार संलग्न हुन प्रोत्साहित गर्ने ।

(४) साँस्कृतिक/आध्यात्मिक विकास

माथि उल्लेखित विविध साँस्कृतिक राष्ट्रिय मूल्य मान्यतालाई सम्बोधन गर्न तथा राष्ट्रको साँस्कृतिक सम्पदाको जगेर्नाका लागि यो क्षेत्र समावेश गरिएको छ ।

साँस्कृतिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः


४.१ अन्य साथीहरू तथा वयस्कहरूको चालचलन, लवाइ–खवाइबारे उनीहरूको भनाइ आदर साथ सुन्न प्रोत्साहित गर्ने । साँस्कृतिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

४.२ विभिन्न राष्ट्रिय चिन्हहरूसँग परिचित हुने अवसर प्रदान गर्ने ।

४.३ आदरपूर्वक राष्ट्रिय गान सुन्न र गाउन अवसर प्रदान गर्ने ।

४.४ आफ्नो परिचय दिन तथा अरूको परिचय लिन अवसर प्रदान गर्ने ।

४.५ स्थानीय तहमा हुने साँस्कृतिक क्रियाकलाप बारे अभिनय गर्ने अवसर प्रदान गर्ने ।

४.६ स्थानीय तहमा उपलब्ध साँस्कृतिक सम्पदा (जस्तै मन्दिर, गुम्बा आदि)को अवलोकन गर्न लैजाने तथा सो सम्बन्धित चित्र तथा अन्य सामग्री सङ्कलन गर्ने अवसर प्रदान गर्ने ।

माथि उल्लेखित सूचकहरूबाट के बुझिन्छ भने पूर्व प्राथमिक कक्षाका बालबालिकाले साधारणतः अभिभावकले सोच्ने क-ख-ग, A-B-C-D, वा संख्या भन्दा अरु धेरै कुराहरू सिक्नु पर्ने रहेछ । जबकी विभिन्न अनुसन्धान अनुसार, बालबालिकाले सिक्ने अन्य विकासात्मक पक्ष जीवनभरि काम लाग्ने गरेको पाईन्छ । तर, शैक्षिक गुणस्तर परिक्षण केन्द्रले (२०७६) गरेको अनुसन्धान अनुसार ३९ प्रतिशत बालबालिकामात्र माथि उल्लेखित मापदण्ड पूर्ण रुपमा पुरा गर्न सक्षम थिए ।

त्यसैले बालबालिकालाई केवल क-ख-ग, A-B-C-D, चिन्न र लेख्न लगाउनु भन्दा उनीहरूको सर्वाङ्गीण अर्थात् शारीरिक, सामाजिक तथा सम्वेगात्मक, बौद्धिक तखा भाषिक र साँस्कृतिक/आध्यात्मिक विकासको अवसर प्रदान गरौं र सो अनुरूपको वातावरण निर्माण गर्ने प्रयास गरौं ।